इटहरीः कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित गोकुवा चोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा झापा कचनकवल– ६ का २८ वर्षीय राम सुबेदी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार प्रदेश– ३– ०२००७ प०६८७ नम्बरको मोटरसाइकलमा विराटनगरबाट इटहरीतर्फ आइरहेका सुवेदीलाई इटहरीबाट विराटनगरतर्फ गइरहेको ना ४ ख ७८२३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । दुर्घटनमा परी गम्भीर घाइते भएका सुवेदीलाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा बाटैमा उनको ज्यान गएको प्रहरीको भनाइ छ ।

दुर्घटना गराउने बस र त्यसका चालक सुनसरीको इनरुवा नगरपालिका ३ स्थित महेन्द्र चौक घर भएका ३२ वर्षीय रामकुमार पण्डितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङलाई उदृत गर्दै १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।