इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा विघटनका विरुद्ध मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारअगाडि गरेको शान्तिपर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार ः कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्डसहित प्रदर्शनरत मानवअधिकारवादीहरु प्रहरीद्वारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वरिष्ठ मानवअधिकारवादी कृष्ण पहाडीसहित २६ जना अधिकारकर्मी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारकर्मीहरुलाई प्रहरीले नेपाल पुलिस क्लबमा राखेको छ ।

सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुका साथै राज्यशक्तिको दुरुपयोग गरेको र सरकारका मन्त्री तथा प्रधानमन्त्री स्वयंले मर्यादाविपरीत अभिव्यक्ति दिन थालेको भन्दै खबरदारी गर्न मानवअधिकार तथा शान्ति समाजले शान्तिपूर्ण प्रदर्शन गरेको हो । गत पुुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा भंग गरेयता समाजले पटक पटक सो कदमविरुद्ध प्रदर्शन गर्दै आएको छ । प्रदर्शनका क्रममा पटक पटक प्रहरीले मानवअधिकारवादीहरुलाई गिरफ्तार गर्ने श्रृङ्खलासमेत दोहोरिरहेको छ । पार्टी भित्रको आनतरिक विवादका कारण संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गरेको भनी सर्वत्र आलोचना भइरहेको छ ।