इटहरीः सिरहाको मिर्चैया नगरपालिका ९ बाट तीन जना लागूऔषध कारोबारी २५ किलो अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायबउपरीक्षक शालिग्राम शर्माले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाका आधारमा उनीहरुलाई रणबहादुर श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले स६प ३८६५ नम्बरको डिस्कभर मोटरसाइकलसमेत बरामद गरेको प्रवक्ता शर्माको भनाइ छ । अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।