इटहरीः भारतीय सीमावर्ति क्षेत्रमा पर्ने मोरङको विराटनगर महानगरपालिका १६ स्थित दरैया चौकबाट अवैध रुपमा भारतबाट तस्करी गरी ल्याइएका सामान प्रहरीले आज बिहान बरामद गरेको छ ।
बेवारिसे अवस्थामा प्रहरीको गस्ति टोलीले फेला पारेको सामानको मूल्य दुई लाख ९७ हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।
उनका अनुसार प्रहरीले फेला पारेका लेडिज कुर्ता सुरुवाल दुई सय पाँच पिस, जिन्स पेन्ट एक सय ४५ पिस, स्लट जामा चार पिस, लेडिज (बनारसी, साधा) साडी २४ पिस, पेन्ट–सर्टको कपडा चार रोल, लेडिज लेग्गा चार पिस, पर्दाको कपडा तीन थान, तन्ना तथा सिरानीको खोला २२ पिस र विभिन्न चाबीमा लाग्ने एक बोरा रिङ आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।