इटहरीः नेपाल तरुण दलका मोरङ जिल्ला कोषाध्यक्ष अनिल रिजाललाई महिला चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त रिजालमाथि विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप छ ।आफ्नै साथी रहेका रिजालले आफू बसेको कोठामै आएर आफूलाई हातपात गरेको भन्ने पीडित चिकित्सकको उजुरीका आधारमा निजलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार विराटनगरमा होलसेल डिलर सञ्चालन गरी बसेका ४३ वर्षीय रिजाल सुन्दरहरैँचाका स्थायी बासिन्दा हुन् ।
विराट व्यापार संघको सदस्यसमेत रहेका रिजालले पीडित चिकित्सकसँग व्यापार विस्तारका लागि भन्दै लाखौँ रुपैयाँसमेत लिएको बुझिएको छ । अभियुक्त रिजालउपर प्रहरीले अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको एसपी खड्काको भनाइ छ ।