इटहरीः मोरङको विराटनगर महानगरपालिका–१२ स्थित रोडशेष चोकबाट कुखुरा तस्करीमा संलग्न एक जना आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–५ का २८ वर्षीय किरनकुमार सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार अभियुक्त सरदारका साथबाट प्रहरीले दुई लाख २५ हजार रुपैयाँ बराबरका सात सय ५० केजी भारतबाट अवैध रुपमा आयातित ब्रोइलर कुखुरा तथा सोको ढुवानीका लागि प्रयोग भएको प्रदेश १–०४००१ च ००४६ नम्बरको को पिकअप भ्यान बरामद गरेको छ ।

बरामद भएको कुखुरा जिल्ला पशु क्वारेन्टाइन मोरङका प्रतिनिधि तथा स्थानीयको रोहबरमा नष्ट गरिएको बताउँदै एसपी खड्काले अभियुक्त सरदारलाई पिकअप भ्यानसहित आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।