विराटनगरः मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै पीडितहरुले अदालतको ध्यानाकर्षण गराएका छन् ।

मोरङ जिल्ला अदालत परिसरमा पीडितले प्लेकार्ड बोकेर आफूहरुलाई न्याय दिलाइदिन माग गरेका हुन् । ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारबाही गर्न माग गर्दै मंगलबार पीडितहरुले मोरङ जिल्ला अदालत परिसरमा धर्ना दिएका हुन । उनीविरुद्ध सरकारी वलिकको कार्यालयले अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएको छ ।  रौनियारले चर्को ब्याजमा ऋण दिएर जबर्जस्ति असुल गर्ने गरेको र धेरैको विल्लीबाठ गराएको पीडितको भनाइ छ । उनी विराटनगर– ९ घोगापुल चोकका बासिन्दा हुन । प्रहरीले पीडितहरुको उजुरीको आधारमा एक महिनाअघि रौनियारलाई पक्राउ गरेको हो । उनीविरुद्ध १७ वटा मुद्दा दर्ता छ । 

धनपालथान गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय विनोदकुमार सिंहले आफूहरुलाई रकम लगानी गरेर अनाधिकृत रुपमा रकम असुल गर्ने रौनियारले धेरैलाई दुःख दिएकोले कडा कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए ।  रौनियारले चिनेजानेका मान्छेमार्फत् पैसा अभाव भएकाहरुलाई धनीपूर्जा राखेर महंगो ब्याजमा पैसा दिने, धम्काएर पैसा असुल्ने र पैसा तिर्न सक्ने नसके जग्गा आफ्नो नाममा पार्ने गरेका थिए ।