इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ खनारमा रहेको एक उद्योगले कामदारहरुलाई तलब नै नदिई कामबाट निकालेपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् । खनारमा रहेको लक्ष्मी फोम एण्ड लुप म्याट इ. प्रा.लि ले विगत केही महिनादेखि कुनै तलब नै नदिई कामदारलाई निष्कासन गरेपछि कामदारहरु आन्दोलनमा उत्रिएका हुन् । कामदारमध्येका एक भक्तबहादुर कार्कीले उद्योगले योभन्दा पहिला पनि समयमा तलब नदिँदा पटक पटक आन्दोलन गर्ने गरेको जानकारी दिए । उनले उद्योगमा २१ जना नेपाली कामदार रहेकोमा ती सबैलाई निकालिएको जानकारी दिए । ‘हामीले कहिल्यै समयमा तलब पाउँदैनौँ । जहिल्यै महिनाको २० देखि २५ गते मात्र तलब आउँथ्यो । त्यो पनि हामीले काम छोडेर आन्दोलन गरेपछि मात्र । अहिले हामीलाई तिमीहरु सँधै आन्दोलन मात्र गर्छौँ तिमीहरु सबैको हिसाब गर्दिँन्छु भन्दै साहुले बिदा दिएको छ तर अहिलेसम्म हामीले पाउने केही पाएका छैनौँ’, उनले भने ।
उनका अनुसार सो उद्योगले अहिलेसम्म कुनै पनि कामदारलाई त्यहाँ नियुक्ति भएको पत्र पनि प्रदान गरेको छैन । आफू यो उद्योगमा काम गर्ने मजदुर हुँ भन्ने आफूसँग कुनै आधार नभएको उनले जानकारी दिए । ‘हामी यहाँ २१ जना नेपाली कामदार छौँ । अरु भारतीय कामदार छन् । हामीमध्ये कसैलाई पनि अहिलेसम्म नियुक्तिपत्र दिएको छैन । यसले हामी यो उद्योगमा काम गर्ने मजदुर हौँ भन्ने आधार नै छैन । यो विषयमा हामीले बेला बेलामा आवाज उठाइरहेका छौँ । तर, उद्योगका तर्फबाट कुनै पहल भएन’, उनले भने ।
यसका साथै उनले आफूहरुले अहिलेसम्म काम गर्दा पाउने सेवा सुविधा पाउनुपर्ने बताए । बिनाकारण उद्योगले निकालेको भन्दै उनले मजदुरले पाउने सबै सुविधा लिन कुनै पनि मूल्य चुकाउन आफूहरु तयार रहेको बताए । ‘अब हाम्रो माग भनेकै हामीले अहिलेसम्म काम गर्दा पाउने सञ्चय कोष, बोनस अनि मजदुरहरुले जति पनि पाउनुपर्ने सेवा सुविधाहरु छन् त्यो हामीले पाउनुपर्छ भन्ने नै हो । उद्योगले हामीलाई नराख्न पाउँछ तर हामीले पाउनुपर्ने सबै दिनुपर्छ । हैन भने हामी जस्तोसुकै मूल्य तिर्न पनि तयार छौँ । हामीले महिनाभर काम गरेर पनि पाउनुपर्ने तलब नै पाएका छैनौँ तर अब अरु पनि खोज्छौँ हामी’, उनले भने ।
अर्की मजदुर अनिसा पुरीले सबैलाई उद्योगले निकालेपछि मंगलबार (हिजो) आफू र अर्को एक जनालाई काममा आउन उद्योगबाट फोन आएको जानकारी दिइन् । उनले काम गर्दागर्दै तलब नपाएपछि आफूलगायत सबैले काम छोडेको बताइन् । ‘हामीले काम गर्दागर्दै पनि त्यसले हामीलाई ‘सेलरी’ दिएन । त्यसपछि हामी २१ जनाले नै काम छोडेर घर बस्यौँ । अहिले हिजो (मंगलबार) मलाई र एक जना अर्को साथीलाई काममा आउ भन्ने फोन आयो । मैले सबैलाई काममा बोलाएको हो ? भनेर सोधँ ।े उसले हैन अरुलाई नबोलाउने तिमीहरु दुई जनालाई मात्र बोलाएको हो भनेर भन्यो । उसले दिनमा १२ घण्टा काम गरेको पाँच सय रुपैयाँ दिन्छु राति पनि काम गर भनेको थियो हामी मानेनौँ । सबैलाई बोलाउँदा हामी पनि आउँछौँ भनेर मैले जवाफ दिएँ । आज हामी तलबको लागि यहाँ आएका हौँ’, उनले भनिन् ।
इटहरी १३ खनारमा रहेको यो उद्योगले विभिन्न रङ्गका म्याट उत्पादन गर्दै आएको छ । सुरुमा कपडा उत्पादन गर्ने उद्योगबाट स्थापना भएको यो उद्योगले पछि मात्र यहाँ म्याट उत्पादन गर्न थालेको यहाँका मजदुर र स्थानीयको भनाइ छ । योभन्दा अघि पनि विविध कारणले यो उद्योग विवादमा आउने गरेको यहाँका कामदारहरु बताउँछन् । यसबारे यहाँका उद्योगपति भानु अग्रवाललाई फोन गर्दा आन्दोलनमा उत्रिएका २१ जना आफ्नो उद्योगको कामदार नै नभएको प्रतिक्रिया दिए । उनले अन्य कारणले ती मानिसहरु आफ्नो उद्योगमा विरोध गर्न आएको बताए । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्यसमेत रहेका राजन काफ्लेले टेलिफोनमा आफ्नै कामदारलाई हैन भन्ने को भन्दै उनलाई भनेपछि उद्योगपतिले आफू काठमाडौँमा रहेको जानकारी गराए । साथै उनले आफू बार्ताको लागि तयार रहेको समेत बताए ।