इटहरीः फर्जी कागजात पेस गरी रकम अपचलन गरेको आरोपमा मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालका दुई जना कर्मचारीलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही अस्पतालका प्रशासकीय अधिकृत ४२ वर्षीय सुधिरसिंह राठौर र प्रशासन शाखाका सहायक अधिकृत राजनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । दुवै अभियुक्तहरुउपर सोही अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच जना व्यक्तिहरु अञ्जली झाँगड ऋषिदेव, रमिता भगत, राजवति झाँगड ऋषिदेव, रीताकुमारी थापामगर र सुनिता ऋषिदेवलाई पदमा बहाल नगरी उनीहरुका नाममा तलब निकासा गरी अपचलन गरेको आरोप छ । अभियुक्तहरुले पाँचै जना आवेदकहरुको नागरिकता दुरुपयोग गरी माछापुच्छ्रे बैँकमा खाता खोलेको प्रहरीले जनाएको छ ।

sudhirsingh rathaur.

 

प्रहरीका अनुसार रमिता भगतको बैंक खातामा जम्मा भएको ५१ हजार रुपैयाँ बैंकबाट विनोद भगत नाम गरेका व्यक्तिले झिकेको देखिएको छ । अस्पतालले उजुरी दर्ता गराएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तद्वयलाई जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गराई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । गत भदौदेखि अस्पतालमा कार्यरत भनिएका पाँचै जना व्यक्तिहरुको तलब निकासा भइरहेको तर उनीहरुको वास्तविक उपस्थिति नदेखिएपछि कर्मचारीको सूची हेरी उजुरी दर्ता गराएको अस्पतालका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।