महेन्द्रनगरः सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन ।
तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ । कञ्चनपुरसित जोडिएको गड्डाचौकी नाका र डोकेबजार नाकाबाट भारतमा मजदूरीका लागि जाने नेपालीलाई प्रक्रिया पूरा गरेर जान दिइए पनि यात्रा भने सहज नभएको उनीहरुको भनाइ छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा नाका निर्वाधरुपमा खुला नरहेको जानकारी दिए ।
“ मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा हामीले बोल्न मिल्दैन”, उनले भने, “औषद्योपचारलगायत अत्यावश्यक कामका लागि हामीले सिफारिस गरेको आधारमा भारत आउने÷जाने भइरहेको छ ।” उनले नाका सुचारु भएको विषयमा प्रशासन कार्यालयले सूचनासमेत जारी नगरेको बताए । भारत जाने नेपालीलाई भारतीय पक्षबाट पनि यहाँका नाकामा रोकटोक छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउने विषयमा भारतीय पक्षसित पनि समन्वय हुनुपर्नेमा जोड दिए । “मन्त्रिपरिषद्को निर्णयले यहाँ झन अलमल जस्तो भयो”, उनले भने, “नेपाली पक्षले मात्रै खुलाएर भएन भारतीय पक्षसित पनि समन्वय गरेर नाका निर्वाधरुपमा सञ्चालन गर्नपर्छ ।” -रासस