इटहरीः रानी–धरान ६ लेन सडक परियोजनाको काम र सिटि सफारीको बढ्दो चापले इटहरीमा ट्राफिक चुनौति थपिँदै गएको छ । यसले ‘पिक आवर’मा इटहरीमा अत्याधिक सवारी चाप भई सवारी जाम हुने अवस्था आएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डि.एस.पी) सुमनकुमार तिम्सिनाले बताए । यसका साथै जथाभावी उछिन्ने र पार्किङ गर्दा पनि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाइ छ । ‘अहिले इटहरीमा पिक आवरमा सवारीको चाप अत्याधिक भएर धेरै बेर जाम हुने गरेको छ । यसको मुख्य कारण दुई वटा छन् । ६ लेन सडकको काममा ढिलाइ सँगै इटहरीमा बढ्दो सिटि सफारीको संख्याले पनि हामीलाई ट्राफिक व्यावस्थापनमा समस्या हुने गरेको छ । विशेषगरी हामीलाई बिहान नौ बजेदेखि ११ बजेसम्म र बेलूका ४ बजेदेखि ६ बजेसम्म बढी समस्या हुने गरेको छ’, उनले भने ।

अहिले इटहरीको मुख्य चौक, धरान लाइन र विराटनगर लाइनमा ६ लेन सडक परियोजनाको काम भइरहेको छ । यसले पहिला भएका पार्किङस्थल पनि मासिएका छन् जसले गर्दा जथाभावी सवारी साधन पार्किङ हुन थालेको छ । सम्बन्धित स्थानीय तहले पार्किङस्थल बनाउनुको साथै सिटि सफारीलाई निश्चित रुट निधारण गर्न सके ट्राफिक जाम कम हुने डि.एस.पी तिम्सिना बताउँछन् । ‘ ६ लेन सडकको विस्तारका कारण पहिलेका पार्किङस्थल पनि छैनन् । नयाँ बनाउन स्थानीय सरकारले चासो देखाएको छैन । यस्त,ै सिटि सफारी जथाभावी रुपमा कुदाउनेले पनि सडकमा अनावश्यक चाप बढेको हो । ६ लेन सडकको काम चाडोँ सकिनुको साथै सफारीको लागि रुट निर्धारण गर्न सके इटहरीको यो चाप कम हुने थियो’, उनले भने ।

इटहरीमा मात्र नभएर प्रदेश १ मा नै ट्राफिक जामको समस्या बढ्दै गएको छ । यसले दैनिक काममा खटिने ट्राफिक प्रहरीलाई विशेष प्रभाव पारेको छ । इटहरीमा ६ लेन सडक निर्माणले पूर्णता नपाउँदा ट्राफिकलाई बढी कार्यभार पर्नुको साथै स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने तिम्सिना बताउँछन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले हाल ७२ वटा ट्राफिक पोइन्टबाट प्रदेशका १४ वटा जिल्लामा ट्राफिक व्यावस्थापन गरिरहेको छ । यी सबै स्थानमा २४ घण्टा प्रहरी खटिरहेका छन् । यससँगै प्रदेशमा दुई सय १६ स्थानमा एकल ट्राफिक जाँच हुने गरेको छ ।