इटहरीः मोरङको विराटनगर महानगरपालिका १७ स्थित नेपाल भारत सीमावर्ति क्षेत्र मटेरुवाबाट प्रहरीले स्रोत नखुलेको भारतीय मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ९ का ३१ वर्षीय अजय बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । सीमा क्षेत्रमा परिचालित प्रहरीको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा अभियुक्त बयलकोटीका साथबाट पाँच सय दरका दुई सय आठ थान भारतीय नोट फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रवक्ता राईले बताए । उनका अनुसार बरामद भएको भएको भारतीय मुद्रा एक लाख ६६ हजार नेपाली रुपैयाँ बराबरको रहेको छ ।

पाँच सय रुपैयाँ र सोभन्दा बढी दरका भारतीय मुद्रा नेपालमा प्रतिबन्धित रहेको र अभियुक्त बयलकोटीले मुद्राको स्रोतसमेत खुलाउन नसकेकाले निजलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि मुद्रासहित विराटनगर भन्सार कार्यालयको जिम्मा लगाइएको प्रवक्ता राईले जानकारी दिए ।