इटहरीः संघीय संसदको प्रतिनिधिसभा भंग गरी संसद्को अनुपस्थितिमा असंवैधानिक तवरले सरकारले संवैधानिक निकायमा गरेको पदपूर्तिका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले आह्वान गरेको देशव्यापी आमहड्तालको आंशिक प्रभाव परेको छ ।
नेकपाले आमहड्तालको आह्वान गरेलगत्तै हिजो गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शान्तिपूर्ण रुपमा जीवनयापन गर्न पाउने जनताको मौलिक अधिकार भएकाले सोको उल्लङ्घन हुनेगरी बन्द हड्ताल नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो । सर्वसाधारणको दैनिक गतिविधिमा अवरोध गर्न खोज्ने जोकोहीलाई कानून अनुसार कारबाही गर्ने प्रष्ट पारेको गृह मन्त्रालयले आज देशैभर सुरक्षा व्यवस्था कडा बनाएको छ । मुख्य बजार क्षेत्रहरुमा प्रहरी परिचालन गरी मन्त्रालयले बन्दकर्ताको सम्भावित उश्रृङ्खल गतिविधि नियन्त्रणको प्रबन्ध गरेको छ ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १ मा पनि बन्दको प्रभाव आंशिक रुपमा परेको छ । लामा तथा छोटा दूरीका सवारी साधनको आवागमन प्रभावित भएपनि प्रहरीले स्कर्टिङ गरी लामो दूरीका सवारीलाई गन्तव्यतर्फ पठाएको कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमनकुमार तिम्सिनाले बताए । बजारमा सञ्चालित पसलहरु निर्वाध रुपमा चलेका छन् । यसैबीच, काठमाडौँबाट प्रहरीले बन्द आह्वान गर्ने नेकपाका एक दर्जन केन्द्रीय नेता तथा ६० जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने केन्द्रीय नेताहरुमा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा, कृष्ण केसी, रमेश मल्ललगायत रहेका छन् । बन्दकर्ताहरुले काठमांडौको सामाखुसीमा एक ट्याक्सीमा आगजनीसमेत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।