इटहरीः नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव खेमाले आह्वान गरेको देशव्यापी आम हड्तालका क्रममा सुनसरीको धरानमा बन्दकर्ता र यातायात मजदुरबीच सामान्य झडप भएको छ ।

बन्दको अवज्ञा गर्दै सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले अवरोध गर्न खोजेपछि धरानको भानु चौकमा यातायात मजदुरहरुले प्रतिकार गर्दा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताए । हाल भने अवस्था सामान्य भएको उनको भनाइ छ ।

सवारी साधनमा ढुङ्गामुढा गर्ने एक जना प्रदर्शनकारीलाई प्रहरीले धरानबाटै नियन्त्रणमा लिएको उपरीक्षक थापाले बताए । उनका अनुसार सुनसरीमा लामो तथा छोटो दूरीका यातायात साधन बन्दका कारण चल्न सकेका छैनन् भने बजार पसल पनि आंशिक रुपमा मात्र चलेका छन् ।