इटहरीः सरकारले असंवैधानिक तवरले संवैधानिक आयोगमा संसदीय सुनुवाइबिना नै पदाधिकारी नियुक्त गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको देशव्यापी आमहड्तालका क्रममा धनुषाको जनकपुर उपमहानगरपालिका शिव चौकमा प्रदर्शनकारीसँग प्रहरीको झडप भएको छ ।

त्यस क्रममा प्रहरीले १२ राउन्ड हवाइ फायर तथा लाठी चार्ज गर्दा नेकपा प्रचण्ड माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झासहित ११ जना नेकपा कार्यकर्ता घाइते भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । उनका अनुसार पूर्वमन्त्रीसमेत रहेका झा घाइते भएपछि उनलाई उपचारार्थ २ नम्बर प्रदेश अस्पताल जनकपुर लगिएको छ । झडपमा परी केही प्रहरीसमेत घाइते भएको बताउँदै उनीहरुको उपचार जारी रहेको प्रजिअ बास्तोलाले बताए । प्रदर्शनका क्रममा प्रदर्शनकारीले ना १ ख ५१२ नम्बरको भ्यान र ज १ च १५७० नम्बरको मालसामान बोक्ने गाडिमा आगजनी गरेको बास्तोलाको भनाइ छ । प्रदर्शनका क्रममा प्रहरीले नौ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयलाई उदृत गर्दै प्रजिअ बास्तोलाले जानकारी दिए ।