इटहरीः असंवैधानिक तवरले बिनासंसदीय सुनुवाइ सरकारले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेको विरोधमा देशव्यापी आमहड्ताल आह्वान गरेको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव समूहका कार्यकर्ताहरुले मोरङको विराटनगरमा दुई ओटा सवारीसाधन तोडफोड गरेका छन् ।
बन्दकर्ताहरुले विराटनगरको तीनपैनी चौकमा जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडिका साथै रोडशेष चौकमा नम्बर नखुलेको भारतीय गाडिमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार जनस्वास्थ्य कार्यालयको गाडि तोडफोडमा संलग्न दाहाल–नेपाल समूहका जिल्ला सङ्घर्ष समितिका सह–संयोजक पारुल क्षेत्री, महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुङ्गाना, कार्यकर्ताहरु सारदा मैनाली, मीरा दाहाल, स ङ्गम चौधरी र चम्पा कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । तोडफोड गरिरहेको अवस्थामा उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रवक्ता राईको भनाइ छ ।
आन्दोलनकारीको तोडफोडबाट सवारीका सिसा फुटेपनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरुले अत्यावश्यक सवारीसाधनमा समेत तोडफोड गर्न थालेपछि जनजीवन प्रभावित भएको छ । सुरक्षाकर्मीको उपस्थितिका बावजुद सडकमा प्रदर्शनकारीको ध्वंसात्मक गतिविधि नियन्त्रण हुन सकेको छैन ।