इटहरीः नेपाली सेनाको पोसाक दुरुपयोग गरी आफूलाई उपसेनानी भएको बताउँदै सर्वसाधारणसँग रकम असुली गरेको आरोपमा सुनसरीको इटहरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका ५ का २८ वर्षीय शिवकुमार कार्की सिन्धुलीको दुधौली नगरपालिका ८ का ३८ वर्षीय वसन्तकुमार खड्का रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । उनका अनुसार अभियुक्तहरुमाथि रेड मर्करीको व्यापारका नाममा सर्वसाधारणबाट ११ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप छ ।

निजहरुका साथबाट ३३ हजार ४ सय ५० रुपैयाँ र विभिन्न बैंकका एटिएम कार्डका साथै आइएमईमार्फत् पैसाको कारोबार गरेको रसिदसमेत बरामद भएको प्रहरीले जनाएको छ । विषेश सूचनाका आधारमा दुई साताअघि पक्राउ परेका उनीहरुलाई प्रहरीले हिजो सार्वजनिक गरेको हो ।