बैतडीः बैतडीमा बिहीबार साँझ मृत फेला परेकी एक किशोरीको हत्या भएको आशङ्का गरिएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट शङ्कास्पद अवस्थामा मृत भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन् । कपडा च्यातिएको अवस्थामा छन् । ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । घटना हुनु निकै दुःखद् भएको बताउँदै उनले घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्ने बताए ।

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । कपडा खोलेको अवस्थामा बीच जङ्गलमा शव फेला परेकाले थप कुरा अनुसन्धान थालिएको उनको भनाइ छ । घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ । घटनालाई गम्भीररूपमा लिएको र दोषीलाई कानूनी कठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनले किशोरीको हत्या भएको हुनसक्ने बताए । तर कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था नभएको अधिकारीले बताए । घटनाको विस्तृत अनुसन्धान गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । -रासस