झापाः पूर्वी नाका काकडभिट्टामा आवतजावत खुकुलो बनाइएसँगै नाकामा मानिसहरूको चहलपहल बढेको छ ।
नाकामा गरिने जाँच खुकुलो पारिएपछि दैनिक सयौँ मानिस ओहोरदोहोर गर्न थालेका छन् । कोभिडका कारण लामो समयसम्म बन्द रहेको नाकामा ठूला सवारी साधन आवतजावतमा अझै रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज बनाइएको छ । जसका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जानेक्रम बढेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए ।
उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, अशक्तहरूलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरिएको बताए । ‘मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको हो,’ उनले भने, ‘तर अन्यको हकमा भने पुरानै अवस्था छ । खुकुलो बनाइएको छैन ।’ उनले नेपालका अन्य सीमानाका खुले पनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए । भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर मात्र नेपाल प्रवेश गरिरहेको उनले जानकारी दिए । -रासस