इटहरीः मोरङको विराटनगरस्थित नेपाल टेलिकममा सहायक अधिकृतका रुपमा कार्यरत एक कर्मचारी महिलामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार अभियुक्त कटुवाललाई प्रहरीले गएराति उनकै निवासबाट नियन्त्रणमा लिएको हो । आफूलाई पटक पटक गाली बेइज्जति गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि अभियुक्त कटुवाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

अभियुक्त कटुवालले महिलामाथि दुर्व्यवहार गरेको स्थानीयवासीले समेत पुष्टि गरेका छन् । हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्त कटुवालउपर अनुसन्धान गरी कारबाहीको प्रकृया अगाडि बढाइने प्रवक्ता राईले जानकारी दिए ।