इटहरीः सुनसरीको इटहरीमा बितेको एक महिनायता खाने तेलको बजार मूल्यमा अस्वभाविक वृद्धि भएपछि इटहरी उपमहानगरपालिकाले सोमबार बजार अनुगमन गरेको छ ।

कुनै वस्तुको मूल्य एक÷दुई रुपैयाँ बढ्नु सामान्य हो तर, इटहरीमा खाने तेलको मूल्य प्रति प्याकेट आठदेखि १० रुपैयाँसम्म वृद्धि भएपछि बजारमा तेलको मूल्य कसरी बढ्यो भन्ने थाहा पाउन उपमहानगरले बजार अनुगमन गरेको हो । बितेको एक महिनामा राजनैतिक अस्थीरताका कारण बजारमा चलखेल भएको थाहा पाएर अनुगमनमा निस्किएको उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । आकस्मिक रुपमा उमहानगरपालिकाले गरेको बजार अनुगमनमा ट्याङ्ग्रा खोला छेउमा सञ्चालनमा रहेको आषिश ट्रेडर्समा तेलको मूल्य १० रुपैयाँले बढेको पाइएको हो । ‘राजनैतिक अस्थीरताका कारण यो एक महिनायता इटहरीमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक बढेको गूनासो हामीले सुन्यौँ । आज हामी आकस्मिक बजार अनुगमनमा निस्किएका छौँ । अनुगमनको क्रममा यो होलसेल पसल (आषिस ट्रेडर्स)मा सामान्य एक दुई रुपैयाँ मूल्य वृद्धि हुनुपर्नेमा १० रुपैयाँसम्म मूल्यवृद्धि गरेको पाएका छौँ’, उनले भनिन् ।

उपमहानगरले गरेको बजार अनुगमनमा मूल्य धेरै लिएको पाइएपछि सञ्चालकले भने उद्योगले नै आफूसँग बिलमा राखिएको रकमभन्दा बढी मूल्य लिने गरेको बताए । आफूले जसरी पनि सामान बिक्री गर्नुपर्ने भएकाले उद्योगलाई बिलको मूल्यभन्दा बढी तिर्न बाध्य भएको उनले बताए । साथै उनले बजारमा तेलको मूल्य बढ्नुमा उद्योग नै मूख्य कारण भएकाले उपमहानगरलाई उद्योगमा अनुगमन गर्न आग्रह गरे । गौतमले भने यसरी बिलमा भएको भन्दा बढी मूल्य तिर्दा होलसेल व्यवसायीसँगै नेपाल सरकार पनि ठगिएको बताइन् । ‘उहाँ आफू बिलमा भएको भन्दा बढी रकम तिर्दै आएको भन्नु हुन्छ । यसले त उहाँले कर छलि गरेको देखिन्छ’, उनले भनिन् । उद्योगबाट उत्पादन भएको कुनै पनि वस्तु उपभोक्तासम्म पग्न डिलर, होलसेल र खुद्रा पसलसम्म पुग्छ । यसरी एक ठाउँमा नै यति धेरै मूल्यवृद्धि हुनाले लाखौँ उपभोक्ता मूल्यवृद्धिको मारमा परेको गौतम बताउँछिन् । मूल्यवृद्धि के कारणले भएको छ भन्ने थाहा पाउन उद्योगदेखि खुद्रा बिक्रेतासम्म पुग्ने गौतमको भनाइ छ ।

साथै उनले बजारमा बढी मूल्यमा सामान बिक्री गर्ने मात्र नभएर कम गुणस्तर भएका र गुणस्तरहिन वस्तु पनि बिक्री हुने गरेको पाइएको बताइन् । उपभोक्ताले यसबारे पनि गूनासो गरेको र गुणस्तरको विषयमा फेरि अर्को अनुगमन गर्ने गौतमले बताइन् । यस्तै, इटहरीका प्रायः पसलहरुमा मूल्यसूची नै राख्ने नगरेको पाइएको उनले बताइन् । त्यस्ता पसललाई उपमहानगरबाट पत्र पठाएर मूल्यसूची तुरुन्त राख्न लागइने गौतमले जानकारी दिइन् । उपमहानगरले सोमबार इटहरीको मूख्य चौक आसपासका होलसेल तथा डिलरहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा प्राय सबै पसलहरुमा मूल्यवृद्धि भएको पाइएको उपमहानगरले जानकारी दिएको छ ।

IMG_20210208_163103_827 IMG_20210208_162903_0