इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत रहेको नगर बाल सञ्जाल इटहरीले फागून २ गते विद्युतीय अपराध, लागूऔष दुर्व्यसन र बालमैत्री स्थानीय शासनसम्बन्धी एक दिवसीय सहजीकरण कार्यशाल गर्ने भएको छ ।

कार्यक्रममा बालबालिकाहरुसँग प्रविधिको प्रयोग र दुरुपयोगबाट हुने फाइदा र असरका विषयमा छलफल हुनेछ । इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्ग अनुसार हाल इटहरीमा लागूऔषधको प्रयोगमा बालबालिका पनि संलग्न हुने देखिएको छ । बालबालिकालाई दुर्व्यसनमा लाग्नै नदिन, दुर्व्यसनको प्रभाव र यसले पुर्याउने हानि तथा लागूऔषधको दुर्व्यसनबाट बच्ने उपायको विषयमा पनि कार्यक्रममा जानकारी गराइने नगर बाल सञ्जाल इटहरीले जानकारी दिएको छ । साथै इटहरीलाई बालमैत्री बनाउन के के भए र के के हुन बाँकी छ भन्ने विषयमा पनि छलफल हुने सञ्जालले जानकारी दिएको छ । इटहरीमा हाल १७ नम्बर वडा बालमैत्री बनिसकेको छ ।

यस्तै, इटहरीका अन्य वडालाई पनि बालमैत्री बनाउन अहिले इटहरी उपमहानगरपालिका, नगर बाल सञ्जाल र बाल अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था लागिपरेका छन् । कस्तुरी कलेजको सभाहलमा हुने सो कार्यक्रममा इटहरीमा रहेका सामुदायिक तथा संस्थागत एक सय ५० वटा विद्यालयबाट दुई जना विद्यार्थी र एक जना शिक्षकको सहभागिता रहने सञ्जालका कार्यक्रम संयोजक तथा सह–सचिव मनिष कार्कीले जानकारी दिएका छन् । एक सय ५० विद्यालयबाट एक जना छात्र र एक जना छात्र सहभागी हुने सञ्जालकी सचिव खुसी श्रेष्ठले जानकारी दिइन् । योसँगै छिमेकी पालिकाबाट पनि बालबालिकाहरु सहभागी हुने सञ्जालले जानकारी दिएको छ ।