इटहरीः मोरङको विराटनगर महानगरपालिका–१० स्थित न्युरो अस्पताल नजिकबाट १० लाख रुपैयाँ बराबरका प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विक्रम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार अभियुक्त मण्डलको कोठाबाट प्रहरीले एमिडोन इन्जेक्सन ६५ थान, पारासिटामोल इन्जेक्सन, २४ थान, डेस्रिम इन्जेक्सन नौ थान, पाजोकेम इन्जेक्सन १४ थान र इनहेम इन्जेक्सन १४ थान गरी १० लाख तीन हजार एक सय ८० रुपैयाँ बराबरका प्रतिबन्धित औषधि बरामद गरेको छ ।
यसका साथै मण्डलका साथबाट प्रहरीले एचपी कम्पनीको एक थान कलर प्रिन्टरसमेत बरामद गरेको प्रवक्ता राईको भनाइ छ । सो मेसिन औषधिको लेबल छाप्नमा प्रयोग हुने गरेको प्रवक्ता राईले बताए । पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि विराटनरस्थित औषधि व्यवस्था विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।