इटहरीः मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ इक्राहीकी गुजेश्वरी माझी गत माघ १० गतेदेखि बेपत्ता भएकी छन् । परिवारले सुन पाउने आशामा छोरी नै गुमाएका हुन् । गुजेश्वरीकी आमा दुखनसरी माझीले आफ्नो घरमा एक व्यक्तिले आएर सुनको भण्डार रहेको भन्दै प्रलोभन देखाएको र उसले भनेको मान्दै जाँदा आज छोरी नै गुमाउनु परेको बताइन् । उनले प्रजनन क्षमता कम भएका महिलाहरुलाई प्रजनन गर्न सक्षम बनाउने औषधि बेच्ने बहानाले आएका विराटनगरकै १९ नम्बर वडामा बस्ने दिनेश मण्डलले आफ्नी छोरी लगेको बताइन् । मण्डलले कन्या कुमारीको साथमा सात खोलामा पूजा गर्दा घरमा अधिक सुन भेटिने भन्दै गुजेश्वरीलाई लगेका थिए । त्योभन्दा पहिले मण्डलले झारफूक गरेर गुजेश्वरीको घरबाट गाडिएको अवस्थामा एउटा सुनको औँठी भेटाइदिएका थिए । यसले गुजेश्वरीको परिवारमा मण्डलप्रति विश्वास बढ्दै गएको थियो ।

‘पुष २४÷२५ गतेतिर त्यो मान्छे हाम्रो गाउँमा आयो । र, मलाई सोध्यो कि एउटा मान्छेको घर कहाँ हो । मैले किन भनेर उसलाई सोधेँ । उसले त्यसको छोराछोरी भएको छैन र अनि त्यही हुने औषधि दिन आएको भनेर मलाई भन्यो । मैले पनि हाम्रा गाउँमा सुनिता र अरुको पनि बच्चा भएको छैन, उनीहरुलाई पनि दिँदा हुन्छ भने हेरौँ न त कस्तो हुँदो रहेछ भनेर औषधि दिन भने । त्यसले सुनितालाई पनि औषधि दियो’, उनले भनिन् । यसरी नजिकिएको दिनेश मण्डलको त्यो घरमा आउजाउ बाक्लिन थाल्यो । त्यसपछि दिन बिराएर उ माझी परिवारको घरमा आउने गरेको थियो । ‘त्यसपछि उ एक दिन छुटाएर मेरो घरमा आउँथ्यो । एक दिन त्यसले मलाई तपाईँको घरमा जिन छ त्यसलाई निकाल्यो भन्ने धेरै सुन भेटिन्छ भनेर भन्यो । मैले पनि सुन पाउने आशामा उसले भनेको सबै मानेँ । एक दिन उसले हाम्रो घरमा पूजा गर्यो र एउटा गणेश भगवानको औँठी गाडिएको ठाउँबाट निकालिदियो । हामीलाई विश्वास झन् बढ्यो । त्यसपछि उसले हामीलाई तपाईँकोमा अझै सुन भेटिन्छ त्यसको लागि ५० हजार रुपैयाँ चाहिन्छ भन्यो । मैले सुन नै पाइन्छ भने ५० हजार दिउँ भनेर सुन राख्ने विचार गरेँ । माघ १० गते शनिबारको दिन हामीले विराटनगरमा रहेको एक सुन पसलमा गहना राखेर पैसा निकालेर उसलाई दियाँै । करिब १२ बजेतिर हामी पसल गएका थियौँ । अनि राति उसले जिन निकाल्न कन्या कुमारीसँगै सात खोलाको पानी ल्याएर पूजा गर्नुपर्छ भन्यो । अरु कोही थिएन, मैले मेरी छोरी नै उसँग पठाइदिएँ । यो रातिको कुरा हो । त्यसपछि हाम्री गुजी आएकै छैन । कति खोजिसक्यौँ अहिलेसम्म फेला पारेका छैनौँ’, उनले गहभरि आँसु पार्दै भनिन् । 

आफ्नो परिवार रुढिवादी सोचको भएकै कारण बहिनी गुमाउनु परेको गुजेश्वरीका दाजु ध्रुवनारायण माझीले बताए । आफ्नी बहिनीजस्तै मण्डलले धेरैलाई विभिन्न प्रलोभनमा फसाएर भारत लग्ने गरेको हुनसक्ने ध्रुवनारायणको आशंका छ । ‘म व्यापार गर्न इटहरी बस्छु । बेला मौकामा मात्र घर जाने गर्छु । त्यो मान्छे घर गएर आमालाई आशा देखाएपछि मलाई फोन गरेर इटहरी आउनुभयो । मलाई त्यो सबै भन्नुभयो । मलाई त्यो ठग हो भन्ने लागिसकेको थियो । मैले आमा र त्यो दिनेश मण्डललाई गाली गरेर पठाएँ । त्यसपछि म मेरो काममा व्यस्त भएँ । रुढिवादी सोच भएको मेरो परिवारका सदस्यले मलाई थाहा नै नदिई यो सबै गर्नुभएछ । अहिले मेरी बहिनी हराएकी छन्’, उनले भने । बहिनी १० गते राति हराएपनि आफू र गाउँलेले ११ गते मात्र थाहा पाएको उनले बताए । ‘१० गते पूजा गर्ने भन्दै लगेको मण्डलले हाम्रो बहिनी ल्याएनछ । तर यो सबै मलाई ११ गते मात्र थाहा भयो । म घर आएको बेला बहिनीलाई देखिनँ र आमा पनि निराश हुनुहुन्थ्यो । आमालाई सोध्दा एकछिन त केही बोल्नुभएन तर पछि सबै भन्नुभयो’, उनले भने । उनले आफ्नी बहिनी फेला नपरे पनि अन्य नेपाली बहिनीहरुलाई यस्तो नहोस् भन्नकै लागि आफूले मण्डललाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको बताए । तर प्रहरीले घटनाका विषयमा छानबिनमा ढिलासुस्ति गरेको उनको भनाइ छ ।

मण्डलले इक्राहीका तीन÷चार जना महिलाहरुलाई बच्चा हुने औषधि दिएका थिए । तर, उनले औषधि दिएकामध्ये कसैको पनि अहिलेसम्म बच्चा भएको छैन । बच्चा हुने आशाले गुजेश्वरीकी छिमेकी इक्राहीकै सुनिता उराउले पनि मण्डलसँग एक हजार रुपैयाँ तिरेर औषधि लिएकी थिइन् । अहिले मण्डल पनि भागेको र आफूलाई औषधिले पनि काम नगरेको उराउ बताउँछिन् । ‘ दुखनसरी दिदीले मलाई बच्चा हुने औषधि लिएर एउटा मान्छे आएको छ भनेर भन्नुभयो । मेरो पनि बच्चा थिएन एक पटक खाएर हेरौँ न त भनेर औषधि किन्ने विचार गरेँ । उसले २५ सय लाग्छ भन्यो । मैले एक हजारमा दिन भने र एक हजार चाहीँ बच्चा भयो भने दिन्छु भने । उसले मलाई औषधि दियो । न मेरो बच्चा भयो । अहिले उ कता गयो थाहा नै छैन’, उनले भनिन् । अर्की एक स्थानीय भगवति साहलाई मण्डलले पत्थरीको समस्या अस्पताल नगई आफै निको पार्दिने दाबी गरेका थिए । त्यति मात्र होइन, मण्डलले साहलाई औषधि खाएको १६ दिनमा अस्पताल गएर चेक गर्न र पत्थरी निको नभए आफूलाई जस्तोसुकै सजाय दिन भनेका थिए ।

‘२४÷२५ गतेतिर त्यो मान्छे दुखनसरी माइजुको घरमा आएको रहेछ । माइजुले मलाई बुहारी, यहाँ एउटा मान्छे आएको छ पत्थरी निको पार्छ रे भन्नुभयो । मलाई पनि पत्थरी थियो । मैले त गोल्डेन हस्पिटलमा अपरेसन गर्ने पनि तयारी गरिसकेको थिएँ । उसले अपरेसन गर्नु पर्दैन । एउटा औषधी १३÷१४ दिनसम्म खानू । १६÷१७ दिनमा अस्पताल जानू र हेर्नू । निको भएन भने मलाई त्यहिँ पिट्नू । तर निको भयो भने तपाईँ मलाई पैसा दिनू भनेर उसले मलाइ भन्यो । उसले मलाई औषधी दिँदा २४ सय रुपैयाँ लग्यो । ६÷७ दिनसम्म औषधि खाँदा मलाई आरम भएजस्तो भयो । तर, त्यसपछि त्यो मान्छे नै गायब भयो । गुजेश्वरी बहिनीलाई पनि गायब बनायो’, उनले भनिन् । 

गुजेश्वरीजस्तै प्रदेश १ मा गत वैशाखदेखि पौष महिनसम्म १७ सय ६४ जना महिला तथा बालबालिका हराएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्याङ्गमा उल्लेख छ । त्यसमध्ये मोरङका मात्रै तीन सय ३२ जना महिला तथा बालबालिका रहेका छन् । यस्तै सुनसरीमा दुई सय ९७ जना र झापामा चार सय छ जना महिला तथा बालबालिका बेपत्ता भएको उजुरी परेको १ नम्बर प्रदेश प्रहरीले जानकारी दिएको छ ।

polic report aama mudda