इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा हिजो भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घर भएका ३९ वर्षीय महेन्द्र साह रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा गएराति करिब ८ः५० बजे साहको ज्यान गएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक ३० वर्षीय घनश्याम राजधामी गम्भीर घाइते भएकोमा उनको बीपी प्रतिष्ठानमै उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको देखिएको छ । विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।