इटहरीः मोरङको जहदा गाउँपालिका १ मा गत सोमबार राति एक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
राति करिब ९ः३० बजे शौच गर्न गएकी बालिकालाई मोटरसाइकलमा आएका दुई जना युवाहरुको समूहले अपहरण गरी मकैबारीमा लगी बलात्कार गरेको पीडित बालिकाको भनाइ छ । बालिकालाई अपहरण गरी मोटरसाइकलमा राखेर युवाहरु भागेको देखेपछि छिमेकीहरु आरोपीको खोजीमा निस्किएकोमा आरोपीहरु भाग्न सफल भएका छन् । आफूहरुले फेला पार्न नसकेपछि मात्र प्रहरीलाई खबर गरेकाले तत्काल आरोपीहरुलाई गिरफ्तार गर्न नसकिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
उनका अनुसार प्रहरीले आरोपीहरुको पहिचान गरिसकेको छ । आरोपीहरुले प्रयोग गरेको को २२ प १८१६ नम्बरको मोटरसाइकल स्थानीय उदितचन्द यादवको घरमा फेला परेको भन्दै प्रहरीले आरोपीहरुको खोजीकार्य तिव्र पारिएको जनाएको छ । आरोपीहरु पीडित बालिकाकै छिमेकी गाउँका बासिन्दा रहेकोमा उनीहरु घटनापछि भारततर्फ भागेको हुनसक्ने प्रहरीको आशंका छ ।