इटहरीः सुनसरीको इटहरीमा विभिन्न कारणले सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको छ ।
दैनिक कम्तिमा पनि एउटा दुर्घटना हुने गरेको इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कले देखाउँछ । यसलाई न्यूनीकरण गर्न इटहरीमा रहेका विभिन्न संघसंस्थाहरुले जनचेतनामूलक होर्डिङ बोर्ड राखेका छन् । मोक्ष पुनर्जीवन केन्द्र इटहरी, हेल्पिङ हेण्डस क्लब, हेल्पिङ युथ निलगिरी गोरखा होटल र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रयासमा इटहरीको तरहरादेखि नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरसम्म ६ वटा होर्डिङ बोर्ड राखिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक अर्जुन केसीले निर्माणाधीन ६ लेन सडक परियोजनाको काम र तिव्र गतिमा सवारी साधन चलाउँदा इटहरीमा दुर्घटना बढेको जानकारी दिए । मोटरसाइकल र साना सवारी साधन इटहरीमा बढी दुर्घटना हुने गरेको उनले जानकारी दिए ।
उनले इटहरीमा सडक फराकिलो हुँदै गर्दा दुर्घटना पनि बढ्दै गएको जानकारी दिए । इटहरीको तरहरा र पिपल चोक आसपासमा ६ लेन सडक परियोजनाको काम लगभग सकिएको छ । हलगडा चौक, पूर्वी पृतना हेडक्वार्टरअगाडि र विराटनगरलाइनमा ६ लेन सडक परियोजनाको काम भइरहेको छ । हेल्पिङ हेण्डस क्लब इटहरीका अध्यक्ष राजेश राईले इटहरीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि होर्डिङ बोर्ड राखिएको जानकारी दिए । यसले सवारी चालकलाई सचेत गराउने र दुर्घटनामा कमि आउने उनको भनाइ छ ।
लकडाउनभन्दा पहिलदेखि नै सुरु भएको यो परियोजनाको काम कछुवाको गतिमा हुँदा र्दुघटनासँगै धुलोले पनि इटहरीवासी आजित बनेका छन् । सडक दुर्घटना न्यूनीकरणको लागि यो काम छिटो सक्नुपर्ने स्थानीय तथा सवारी चालक बताउँछन् । पछिल्लो समय इटहरीमा सवारी दुर्घटना हुने र मृत्यु हुनेको संख्या वृद्धि हुन थालेको छ । आइतबार इटहरीको हलगडामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको थियो । त्यस्तै इटहरीमा नै तिव्र गतिमा मोटरसाइकल चलाउँदा बाबु छोराको मृत्यु भएको थियो । यस्तै एक दर्जनभन्दा बढी दुर्घटनामा परेर ५ जनाभन्दा बढीको ज्यान गएको छ भने धेरै अंगंभंग भएका छन् ।