इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जी जारी गरी राज्य विरुद्धको कसुरसम्बन्धी ऐनको दफा ५८अनुसार झाँक्रीलाई काठमाडौँको शंखमूलस्थित उनकै निवासबाट पक्राउ गरेको हो । प्रहरी पुग्नासाथ झाँक्रीको समर्थनमा नेकपाका कार्यकर्ताहरुले उनको निवास परिसरमै नाराबाजी गरेका थिए । महाशाखाका प्रहरी नायबउपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी नेतृत्वको टोलीले झाँक्रीलाई पक्राउ गरेको हो । पक्राउ गर्नासाथ प्रहरीले झाँक्रीलाई मीनभवनस्थित महाशाखाकै कार्यालयमा पुर्याएको छ ।

झाँक्रीमाथि गोरखामा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोप छ । अखिल नेपाल महिला संघको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठउपरीक्षक (एसएसपी) दीपक थापाले बताए । पक्राउ परेलगत्तै नेतृ झाँक्रीले ट्वीट गर्दै सबैलाई धैर्य गर्न आग्रह गरेकी छन् ।