लहानः सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका होटेल तथा रेस्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले मिर्चैयाका ११ होटेल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरेको हो । मिर्चैया नगरपालिकाका उपप्रमुख जिवछीदेवी साहको नेतृत्वमा मिर्चैयास्थित ११ होटेल तथा रेस्टुरेन्टको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरेको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । अनुगमनका क्रममा एउटा होटेललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने नौ होटेल तथा रेस्टुरेन्टलाई सन्तोषजनक वर्ग (ग) र एउटा होटेललाई सामान्य वर्ग (घ) वर्गको स्टिकर टाँस गरेको प्रमुख सिंहले बताए । ती होटेल र रेस्टुरेन्टका सञ्चालकलाई यसअघि खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत दिइएको थियो । सोहीअनुसार होटेल तथा रेस्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागु गरेरनगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ ।

खाद्य स्वच्छता, सरसफाइ, भान्साघर, फोहरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात् तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराएको प्रमुख सिंहले बताए । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अंक ल्याउने होटेल र रेस्टुरेन्टलाई अतिउत्तम (क) तथा ८० देखि ९० सम्म अंक ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अंकसम्म ल्याउनेलाई सन्तोषजनक (ग) र ५० देखि ६४ अंक ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटेल तथा रेस्टुरेन्टमा स्टिकर टाँसिएको छ । सामान्य स्टिकर पाएका होटेल र रेस्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारबाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताए । अनुगमन तथा स्तरोन्नति टोलीमा होटेल व्यवसायी संघका केन्द्रीय सदस्य रामकुमार गुप्ता, मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्तालगायतको सहभागिता थियो । -रासस