किमाथांकाः संखुवासभाको मकालु गाउँपालिका–५ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकालु–३, हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी–किमाथांका सडकखण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो । ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् । मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मृतक राईका श्रीमान्–श्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालिममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेमकुमारीको थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लग्ने तयारी भइरहेको शिक्षक हित कार्कीले जानकारी दिए । अहिले स्थानीयले खाँदबारी–किमाथांका सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्धसमेत पारेका छन् । -रासस