इटहरीः को १ च ९८५२ यो त्यही स्करपियो हो, जसले सुनसरी प्रहरीको कयौँ अवरोध तोड्दै गाडिमा भएको दुई सय ५० केजी गाँजा उम्काउन खोजेको थियो ।

धनकुटा र भोजपुर जिल्लाको सीमा हुँदै सुनसरीको चतरा ल्याइएको गाँजा प्रहरीको प्रारम्भिक अनुसन्धानमा चताराको पुल पारिबाट यो स्करपियोमा ‘लोड’ भएको बताइएको छ । सुनसरी प्रहरीलाई, एक शंकास्पद स्करपियो तिव्र गतिमा चतरा हुँदै सुनसरी प्रवेश गर्दै छ भन्ने सूचना आउँछ । लगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशी आफ्ना सहयोगीलाई लिएर चतारा पुल आसपासको सडकमा अवरोध तेस्र्याएर ‘स्टयाण्ड बाइ’ हुन्छन् । सडकमा प्रहरी ‘ब्यारिकेटर’ लगाइन्छ । प्रहरीलाई प्राप्त सूचना अनुसारको स्करपियो निकै तिव्र गतिमा चतारा पुलबाट सुनसरी प्रवेश गर्छ । राजवंशीको टोलीले उक्त स्करपियो रोक्न खोज्छन् । तर, उल्टै प्रहरीकै दुई वटा मोटरसाइकललाई ठक्कर दिएर यो स्करपियो भाग्न खोज्छ । प्रहरी निरिक्षक राजवंशीले प्रहरीलाई घाइते बनाउनेगरी प्रहरीको मोटरसाइकललाई ठक्कर दिएर भागेको स्करपियोलाई नियन्त्रणमा लिन टायरमा लक्षित गरी फायर खोल्छन् ।

gadi

तर, निक्कै तिव्र गतिमा रहेको स्कारपियोमा बोनटको तल्लो भागमा मात्र गोली लाग्छ । करिब एक सय किलोमिटर प्रतिघण्टादेखि माथिको ‘स्पीड’मा भागेको स्कारपियोलाई नियन्त्रणमा लिन प्रहरीलाई निक्कै मुस्किल पर्छ । चतरा नजिकको दुई वटा प्रहरी ‘ब्यारिकेटर’ लाई ठक्कर दिएर भागेको सो स्करपियोले पुनः नहडामा रहेको प्रहरीको अर्को ‘ब्यारिकेटर’ भत्काउँछ । चतराबाट भागेको स्करपियोलाई रोक्न जिल्ला प्रहरी कार्यालय सुनसरीको सबै युनिट परिचालित भइसकेको हुन्छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एस.पी) कमल थापा आफैँ फिल्डमा उत्रिन्छन् । माघ २२ गते बिहान १ बजे चतरा पुलबाट भागेको स्करपियोलाई नियन्त्रणमा लिन इटहरी, पकली र इनरुवाका सबै प्रहरी युनिट तैनाथ भइसकेका हुन्छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशी चतराबाटै यो स्करपियोलाई पछ्याइरहेका हुन्छन् ।

बक्लौरी चौक र कान्छी चौकमा रहेको ‘ब्यारिकेटर’ मा समेत ठक्कर दिँदै भागेको यो स्करपियो कान्छी चौकबाट पूर्व हुँदै इटहरी प्रवेश गर्छ । लगत्तै इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डि.एस.पी) अर्जुन केसीको टोलीले यो स्करपियोलाई पछ्याउँछन् । इटहरी प्रहरीले ‘फलो’ गरेपछि यो स्करपियो बालग्राम चौकको कच्चि बाटो हुँदै तरहरा भाग्छ । तरहरा क्षेत्रमा पनि प्रहरीले बाटो अवरुद्ध गर्न बाटोमा ढुंगा हाल्छन् । तर, त्यो अवरोधलाई छल्दै यो स्करपियो तरहरा हुँदै इटहरीतर्फ हाँकिन्छ । यस बीचमा प्रहरीको चार ठाउँको ‘ब्यारिकेटर’ समेत ठक्कर दिँदै पुनः स्करपियो इनरुवातिर भाग्छ । इनरुवा प्रवेश गनु अघि सखुवागाछिमा प्रहरीको ‘वान टन’ गाडिसहित तीन वटा गाडिले अवरुद्ध गरेपछि यो स्करपियो सुनसरी जिल्ला अदालतको बाटो हुँदै दुहबी जाने वलाहातर्फ मोडिन्छ । साँघुरो बाटोको फाइदा उठाउँदै दुहबी निस्कने सडक ‘ब्लक’ गरेपछि प्रहरी बलाहा पुलनजिकै यो स्करपियोलाई घेराबन्दी गर्न सफल हुन्छ । तर, स्करपियोले प्रहरीको गाडिलाई छलेर भाग्न अझै कोसिस गर्छ । त्यस क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीको ‘वन टन’ गाडिलाई ठक्कर दिन्छ । पछि प्रहरीले त्यही ‘वन टन’ गाडिले ठक्कर दिएर स्कारपियोलाई नियन्त्रणमा लिन सफल हुन्छ । अन्ततः तीन घण्टाको अथक प्रयासपछि चतारा पुलबाट भागेको स्करपियो वलाहाबाट सुनसरी प्रहरीको नियन्त्रणमा आउँछ ।

दुई सय ५० केजी गाँजा बरामद र दुई जना पक्राउ
सुनसरीको प्रहरीले उक्त स्करपियोबाट दुई सय ५० केजी गाँजा मात्र होइन, गाँजा लिएर भागेका दुई जनालाई पनि तीन घण्टाको अथक प्रयासपछि पक्राउ गर्न सफल हुन्छ । स्करपियो प्रयोग गरेर ल्याउँदै गरेको दुई सय ५० केजी गाँजासहित पक्राउ परेका अर्जुन खड्का र ज्याक्सन श्रेष्ठ दुवै जना लागूऔषध कारोबारी भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले पुष्टि भएको छ । यसअघि पनि अर्जुन खड्काले सोही स्करपियो प्रयोग गरेर गाँजा भारतको सीमासम्म लगेको सुनसरी प्रहरीको अनुसन्धानबाट खुलेको छ । कारोबारमा संलग्न दुवै जना मिल्ने साथी भएको र अजुर्नले सो स्करपियो भर्खरै खरिद गरेको हुनसक्ने सुनसरी प्रहरीको अनुमान छ । दुवै जनाको ‘क्राइम डेटा’ हेर्दा कारोबारसँगै ओसारपसारमा संलग्न भएको आधार भेटिएको सुनसरी प्रहरीले जनाएको छ । ‘गाडीमा हेर्दा दुई जना मान्छेहरु र विभिन्न बोरामा प्याकेट बनाएर राखिएको यत्रो गाँजा भेटिएको छ’, सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने, ‘योसँगै उनीहरुबाट नगद र दुई वटा खुकुरी पनि भेटिएको छ । यसको बारमा थप अनुसन्धान भइरहेको छ ।’ उनीहरुले उक्त गाँजा भारतको सीमासम्म पुर्याउन एक लाख ५० हजार रुपैयाँमा ‘डिल’ गरेको थापाले जानकारी दिए । मध्य रात र बिहानको समयमा गाँजा सीमा क्षेत्रमा छोड्ने उनीहरुको योजना थियो ।

250kg gaja

कोसी नदी ‘ट्रान्जिट पोइन्ट’ बन्दै
सुनसरी प्रहरीका अनुसार कोसी नदीको फाइदा उठाउँदै धनकुटा, उदयपुर र भोजपुरबाट आउने गाडिहरु एकत्रित गरेर गाँजाको कारोबार हुने गरेको छ । कोसीमा चल्ने डुङ्गा तथा बाँस कारोबार गर्नेहरुले लुकाई छिपाई गाँजा सुनसरी भित्र्याउने गरेको प्रहरीको बुझाइ छ । सुनसरी प्रहरीले नियन्त्रणमा लिएको दुई सय ५० केजी गाँजा कोसी पुल पारिकोे कुनै ठाउँबाट स्करपीयोमा लोड गरिएको थियो । यसले कोसी नदी पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादन भएका गाँजाको कारोबार गर्नेको ‘ट्रान्जिट पोइन्ट’ भएको प्रहरीको भनाइ छ ।