पर्वतः वैदेशिक रोजगारीको सिलसिलामा मानव तस्करी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–३ घर भएका खेमबहादुर सुबेदी (सुबेदी कान्छो)लाई सोमबार प्रहरीले पर्वतको कुश्माबाट पक्राउ गरेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । सुबेदीले कुवेत लैजाने भन्दै एक महिलालाई श्रीलङ्का लगेर अलपत्र पारेको आरोप लागेको छ । अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँ–नेपालगञ्ज–भारतको नयाँदिल्ली–चेन्नाई हुँदै ती महिलालाई श्रीलङ्का पुर्याएका थिए ।

त्यहाँ पुगेपछि महिला अलपत्र परेकी थिइन् । ती महिलालाई बन्दक राखेको अवस्थामा श्रीलङ्काली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको जनाइएको छ । कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा माघ ३० गते उनलाई नेपाल फर्काइएको ब्युरोले जनाएको छ । महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ । -रासस