बाग्मतिः डिजेल चोरी गरी अवैध रूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ ।
ना ७ ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ । कार्यालयका प्रहरी नायबउपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्यांकरसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेति छन् ।
पक्राउ परेकामध्ये सोही ट्यांकरका उप्रेति चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको नायबउपरीक्षक कुँवरले जानकारी दिए । वीरगन्जको नेपाल–भारत सीमामा रहेको संयुक्त प्रहरी जाँचचौकी इलाकाबाट ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु भएको उनले बताए । नेपालभन्दा भारतमा डिजेल सस्तो छ । -रासस