इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित आधारभूत मार्गबाट प्रहरीले अवैध औषधिसहित एक जनालाई हिजो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान ८, बरगाछि घर भएका २८ वर्षीय सुरेन लिम्बू रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अभियुक्तका साथबाट एक हजार ६ सय २० थान ट्रामाडोल क्याप्सुल आईपी, ४७ क्याप्सुल सेटाडोल फिफ्टी र नौ ट्याब्लेट डेकोलिक नामक औषधि बरामद गरिएको कार्यालयले जनाएको छ ।

चेकजाँचका क्रममा पक्राउ परेका अभियुक्त लिम्बूलाई आवश्यक कारबाहीका लागि मोरङको विराटनगरस्थित औषधि व्यवस्था विभागको १ नम्बर प्रदेश कार्यालयको जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।