इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले माघ महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान विनोद ओझा सुनसरी प्रहरीको माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । इलाका प्रहरी कार्यालय इटहरीमा रहेको सी.डी.आर. शाखामा रहेर काम गरिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरेको हो । विभागीय मुल्य–मान्यता र आदेशको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेवारी पूरा गरेकोले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

police of the month magh.

ओझाले अवैध लागूऔषध, चोरी तस्करी तथा अपराधमा संलग्नलाई पक्राउ गरी अपराध नियन्त्रणमा सहयोग गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ । साथै उनको यो कामले आम जनमानसमा प्रहरी प्रति विश्वास जगाउन विशेष भूमिका खेलेको सुनसरी प्रहरीको भनाइ छ । मोरङको सुन्दरहरैँचा नगरपालिका ५ घर भएका प्रहरी जवान ओझा २०६९ साल चैत २५ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेकोमा उनी दोस्रो पटक पुलिस अफ द मन्थ घोषित भएका हुन् ।