इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले गरगहना चोरीमा संलग्न एक अभियुक्तलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका २ घर भएका २९ वर्षीय मनिष घिमिरे रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कटुवालले बताए । उनका अनुसार इटहरी २, भद्र टोलस्थित सावित्रा भण्डारीको घरमा सुनचाँदीका गरगहना र नगद चोरी गरेको उजुरीका आधारमा हिजो दिउँसो १२ः१९ बजे उनलाई पक्राउ गरिएको हो । सोही ठाउँको इम्पेरियल होटल परिसरबाट पक्राउ परेका अभियुक्त घिमिरेका साथबाट प्रहरीले हरीयो रातो पोते सहितको सुनको छड्के तिलहरी एक थान, रातो पोते सहितको सुनको माइली तिलहरी एक थान, रातो पोते सहितको सुनको सानो तिलहरी एक थान, कालो पोते सहितको सुनको ६ वटा दानाजडित मंगलसुत्र एक थान, सुनको चुराको टुक्रा चार थान, रातो पत्थर लगाएको सुनको लेडिज औठी एक थान, पेच सहितको रातो यु लगाएको कानमा लगाउने झुम्का एक जोर, सुनको सानो लेडिज औँठी एक थान, लकेटमा गुलाबी रङको पत्थर लगाएको सुनको सिक्री थान एक थान, सुनको सिक्री एक थान, शिवजीको तस्बिर भएको लकेट सहितको सुनको सिक्री एक थान र शंखको चिन्ह अंकित कानमा लगाउने झुम्का एक जोर बरामद गरेको सूचना अधिकारी कटुवालले बताए ।

यसैगरी, रातो पत्थर लगाएको भाँचिएको अवस्थाको सुनको लेडिज औठी एक थान, सुनको कानमा लगाउने लेडिज जुली एक थान, चाँदीको पाउजु एक थान, सुनजस्तो देखिने पहेलो ग्यारेन्टीवाला कानमा लगाउने झुम्का एक जोर, सुनजस्तो देखिने ग्यारेन्टीवाला पन्चरत्नजडित लेडिज औँठी एक थान जेन्स घडी दुई थान, डिल्लीबहादुर भण्डारीको नामको सानिमा बैंकको एटिएम कार्ड एक थान, एनआईसी एसिया बैंकको सावित्रा भण्डारीको नामका काटिएको रकम भरेको चेक तीन थान, हिरो लेखिएको चाबी एक थान, विश्व आदर्श कलेज लेखिएको भिर्ने झोला एक थान र नगद ६० हजार चार सय ५० रुपैयाँसमेत अभियुक्त घिमिरेका साथबाट बरामद गरिएको सूचना अधिकारी कटुवालले बताए । पक्राउ परेका अभियुक्त घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।