इटहरीः आफ्नै श्रीमतिको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–५ खरबने टोल घर भएका २३ वर्षीय दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार अभियुक्त तामाङमाथि गत फागुन २ गते आफ्नी १९ वर्षीया श्रीमति गीता तामाङलाई चरम यातना दिई हत्या गरेको अभियोग छ । अभियुक्त तामाङलाई हिजो राति सिद्धिखोला र मेची खोलाको दोभानमा पर्ने नेपाल भारत सीमावर्ति क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त टोलीले तामााङलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयको टोलीको नेतृत्व प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले गरेका थिए भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको हिरासतमा रहेका अभियुक्त तामाङउपर कर्तव्य ज्यान मुद्दामा कारबाही चलाइने प्रहरीले जनाएको छ ।