राजविराजः पाँच सय पाँच जना फरार अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ ।

विभिन्न अपराधमा अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि फरार रहेकामध्ये पाँच सय पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका छन् ।

प्रतिवादीलाई पक्राउ गरेर ६५ वर्ष छ महिना २२ दिन कैद तथा १२ लाख ७७ हजार सात सय २६ रुपैयाँ जरिवाना असुली गरिएको साहको भनाइ छ । प्रहरीले पक्राउ गरेर बुझाएपछि प्रतिवादीलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सवारीसाधनको दुई करोड ३४ लाख १७ हजार पाँच सय ७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस अवधिमा जिल्लामा विभिन्न अपराधका चार सय ३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस