इटहरीः मोरङको उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार दुर्घनापछि गम्भीर घाइते भएका उनीहरुलाई उपचारार्थ उर्लाबारीकै अरनिको अस्पताल लगिएकोमा उपचारका क्रममा राति करिब ८ः१५ बजे उनीहरुको ज्यान गएको हो । को ३१ प ५१ नम्बरको स्कुटरमा पूर्वबाट पश्चिमतर्फ आइरहेका बेला पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त भएको र ट्रकमा समेत अग्र भागमा सामान्य क्षति भएको प्रहरीको भनाइ छ ।

दुर्घटना गराउने ट्रकका चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।