इटहरीः बाल अधिकार सुनिश्चितताका लागि प्रदेश १ का १४ जिल्लाभर भइरहेको कार्यक्रम सोमबार सुनसरीमा सम्पन्न भएको छ ।

यसअघि सोलुखुम्बु बाहेकका प्रदेशका १२ जिल्लामा सम्पन्न भएको कार्यक्रममा प्रदेशका स्थानीय तहमा बाल अधिकारको कार्यान्वयनलाई बढी प्राथमिकता दिइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरणमा प्रदेशभरि नै भइरहेको कार्यक्रमबाट सम्पूर्ण स्थानीय तह नीति निर्माणसँगै त्यसको कार्यान्वयनमा चुकेको परिषद्का प्रदेश १ समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए । उनले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा बाल अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाबीच आपसी समन्वय नहुँदा बाल अधिकारको क्षेत्रमा सोचेको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए ।

जिल्ला समन्वय समिति सनुसरीको आयोजनामा इनरुवामा भएको कार्यक्रममा सुनसरीका स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । मानव अधिकार मञ्च नेपाल इलाम र दूरदृष्टि विकास समाज केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रम पाँच बुँदे प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ ।