इटहरीः सुनसरीको इटहरीस्ति खनारमा रहेको अस्थायी ट्राफिक प्रहरी चौकीले प्रेसर हर्न निषेध अभियान सञ्चालनमा ल्याएको छ ।

सडक क्षेत्रमा ध्वनि प्रदूषणले निम्त्याउने जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यल सो अभियान सञ्चालनमा ल्याइएको हो । चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अमर तामाङ नेतृत्वको टोलीले सो अभियान थालेको हो । सो क्रममा ट्राफिक सहितका प्रहरीले यात्रु बस तथा मालबाहक ट्रक रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराउन थालेका छन् ।

यो नियमको पालना नगर्ने सवारी चालकले कानुन अनुसारको सजायसमेत भोग्नुपर्ने प्रहरीले जानकारी पनि गराएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनि प्रदूषण गरेबापत काबाही गर्ने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायबनिरीक्षक विष्णु बस्नेत बताए । ट्राफिक प्रहरीले चालकसमक्ष ध्वनि प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन सवारी चालकलाई समेत आग्रह गर्ने गरेको छ ।