इटहरीः गत पुस ५ गते शंकास्पद अवस्थामा मृत फेला परेका मोरङको उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्युबारे प्रहरीको अनुसन्धान शंकाको घेरामा परेको छ ।

घटनाको अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा संलग्न मृतक बास्तोलाका तीन ओटामध्ये एउटा फोटो अर्कै व्यक्तिको रहेको फेला परेपछि अनुसन्धानमा संलग्न प्रहरी अभियुक्तलाई बचाउने खेलमा लागेको शंका उत्पन्न भएको हो । अनुसन्धान प्रतिवेदनमा रहेको सोही त्रुटिका कारण जिल्ला सरकारी वकिल कार्यालय मोरङले तत्काल मुद्दा चलाउन नसकिने बताउँदै फायल फिर्ता पठाएको मृतकका आफन्तले बताएका छन् । मृतकका बाबु प्रेमप्रसाद बास्तोलाले पुस ९ गते दिएको उजुरीका आधारमा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीलाई पक्राउ गरी २५ दिनको अनुसन्धानपछि गत माघ २ गते सरकारी वकिल कार्यालयको आदेशमा सबै अभियुक्तलाई रिहा गरेको थियो ।

घटनाको अनुसन्धानमा संलग्न मुख्य अनुसन्धान अधिकृत इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले अनुसन्धानलाई कमजोर बनाई अपराधीलाई जोगाउने नियतले मृतकको फोटो परिवर्तन गरेको मृतकका परिवारको आरोपपछि प्रहरी निरीक्षक पोख्रेल अनुसन्धानको घेरामा परेका छन् । पोस्टमार्टम रिपोर्टका आधारमा बास्तोलाको मृत्यु छटपटीका कारणले भएको देखिएकोमा प्रहरीले भने मुचुल्का नै फितलो बनाउन खोजेको मृतककी बहिनी सदीक्षा बताउँछिन् । उनका अनुसार प्रहरीले मृत्यु भएका बखतमा बास्तोलाले सिक्री नलगाएकोमा प्रहरीको मुचुल्कामा चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको पाइएको छ । आफूले अनुसन्धानको प्रगति बुझ्ने क्रममा प्रहरी मुचुल्का हेर्दा फोटो अर्कै व्यक्तिको रहेको खुलेको उनले बताइन् ।

यता, प्रहरीले पनि मुचुल्का संकलनका क्रममा भुलवस अर्कै व्यक्तिको फोटो पर्न गएको भन्दै घुमाउरो शैलीमा लापरबाही स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) लोकदर्शन थापाले प्रहरी नायबउपरीक्षक मानबहादुर राईको नेतृत्वमा लापरबाहीबारे छानबिन गर्न समिति गठन भएको बताउँदै दोषी प्रहरीलाई कारबाही गरिने आश्वासन दिए । यसैबीच, पीडित पक्षले लापरबाही गर्ने प्रहरीविरुद्ध आन्दोलन तिव्र बनाएको छ । आज पनि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उनीहरुले निष्पक्ष न्यायिक निरुपणको माग गर्दै प्रदर्शनसहित सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पुस ४ गते घरबाट उर्लाबारी ६ का रमेश गिरीको घरमा डेरा गरी बस्ने आफ्ना साथीको घरमा बास बसेका प्रवीण ओछ्यानमै बेहोस भएको देखिएपछि उपचारार्थ गोदावरी अस्पताल पुर्याइएकामा उनको मृत्युपछि मात्र परिवारले जानकारी पाएको थियो ।