इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालकालिका वडा नम्बर ४ गोकुलम टोलकी १५ वर्षीया सविना दर्जी गत माघ २५ गतेदेखि बेपत्ता भएकी छन् ।

दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी माघ २३ गतेसम्म विद्यालयको परीक्षामा सामेल भएको प्रधानाध्यापक कल्याणप्रसाद सिटौलाले जानकारी दिए । विद्यालयले माघ २० गतेबाट सञ्चालन गरेको प्रथम परीक्षामा २३ गते शुक्रबारसम्म उपस्थित भएको सिटौलले बताए । २४ गते शनिबार घरमा नै बसेर अध्ययन गरेकी उनी २५ गते आइतबार पनि विद्यालय जान पोसाकसहित घरबाट हिँडेकी थिइन् ।

IMG_9250

२५ गतेको परीक्षामा सामेल नभएपछि विद्यालयले परिवारसँग बुझेको प्रधानाध्यापक सिटौलाले बताए । ‘तीन वटा परीक्षा दिइसकेकी उनी आइतबारको परीक्षामा किन आइनन् भनेर हामीले परिवारसँग बुझ्यौँ । परिवारले आइतबार पनि घरबाट विद्यालयको पोसाकसहित हिँडेको जानकारी दिए’, उनले भने । त्यसपछि परिवार र विद्यालय मिलेर उनको खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा दुलारी चौकमा रहेको एक सि.सि क्यामेराको फूटेजमा उनी लोकमार्ग हुँदै पूर्वतर्फ लागेको देखिएको थियो । उनी भारततर्फ लागेको हुनसक्ने भन्दै परिवार तथा विद्यालयले तुरुन्त माइति नेपालको विराटनगरमा रहेको कार्यालयलाई फोटोसहित जानकारी गराएको सिटौला बताउँछन् । त्यसपछि निरन्तर खोजीमा लागेपनि अहिलेसम्म उनको अवस्था पत्ता नलागेको परिवारले बताएको छ ।

खोजी गरिदिन परिवारको अपिल
हराएको यतिका दिन हुँदा पनि फेला नपरेको भन्दै सविनाका परिवारजनले उनको खोजी गरिदिन अपिल गरेका छन् । मंगलबार एक पत्रकार सम्मेलनमार्फत् उनीहरुले खोजीको माग गरेका हुन् । ‘हाम्री छोरी सबैले खोजिदिनुहोस् । छोरी कस्तो अवस्थामा छिन् । कस्तो मान्छेको हातमा परिन्, केही थाहा छैन’ सविनाकी आमाले भनिन् । शान्त स्वभावकी उनी सामाजिक सञ्जालबाट पनि टाढै रहेको आफन्तहरु बताउँछन् । ‘उनको व्यवहार राम्रै थियो, त्यस्तो नराम्रो थिएन । फोन पनि चालउँदिन थिइन्’, सविनाकी दिदीले भनिन् । साथै उनले आफ्नी बहिनीको खोजीका लागि अपिल गरेकी छन् ।