इटहरीः मोरङको विराटनगरस्थित मोरङ जिल्ला अदालत परिसरबाट सोमबार फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख रहेको जिल्ला प्रहरी कार्याालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार मोरङको जहदा गाउँपालिको डुमरिया नाकादेखि करिब दुई किलोमिटर दक्षिण भारतमा लुकेर बसेको अवस्थामा शेख पक्राउ परेका हुन् । उनी गाउँको दिदी पर्ने एकजना महिलाको घर पुगेका थिए । शेखसँगै फरार भएका अर्का अभियुक्त झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी भने हालसम्म फरर रहेकाले उनको खोजी भइरहेको प्रवक्ता राईले बताए ।
अभियुक्त शेखलाई गएको आइतबार मोरङको कटहरीबाट आठ ग्राम ब्राउनसुगर र त्यसको तौल जाँच्न प्रयोग गरिने मेसिनसहित पक्राउ गरेको प्रहरीले अर्का अभियुक्त चौधरीलाई विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागूऔषधसहित सोही दिन पक्राउ गरी दुवै जनालाई भोलिपल्ट म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । म्याद थप गरिसकेपछि खाजा खानका लागि अदालत परिसरमै रहेको क्यान्टिनमा गएका अभियुक्तहरु प्रहरीको आँखा छलेर क्यान्टिनबाटै फरार भएको प्रहरीको भनाइ छ । पक्राउ परेका अभियुक्तउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।