इटहरीः उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उद्यमी अविनाश बोहराको विराटनगरस्थित घरमा पाँच वर्षअघि नै म्याद सकिएको करिब ४० हजार किलो दाल बरामद भएको छ ।
म्याद गुज्रिएको सो दालका बोरामा बोहराले नयाँ लेबल टाँसेर बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले आज सो परिमाणको म्याद गुज्रिएको दाल बरामद गरेको हो । सो दाल विराटनगर ८ स्थित बोहरा समूहको जैसानी ट्रेड कन्सर्नस्ले अफिक्री मुलुकबाट आयात गरेको थियो । कन्सर्नस्का सञ्चालक निखिल बोहरा हुन् । उनी नाताले अविनाशका भान्छा पर्छन् । सो कन्सर्नस् भान्जाको नाममा भएपनि त्यसका प्रमुख भने अविनाश बोहरा नै हुन् । वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोख्रेलका अनुसार बोहराले सन् २०१३ मा प्याकिङ भई सन् २०१५ मा म्याद सकिने उल्लेख गरिएको दालको बोरामाथि सन् २०२० मा प्याकिङ गरेको र सन् २०२२ सम्म उपभोग गर्न मिल्ने मिति उल्लेख भएको नक्कली लेबल टाँस गरी बजारमा बिक्री गरेका थिए ।
अनुगमनका क्रममा एउटा खुद्रा पसलमा म्याद गुज्रिएको दाल बरामद गरेको अनुगमन टोली डिलर हुँदै बोहराको घरसम्म पुगेको हो । टोलीले म्याद गुज्रिएको दाल बेच्ने खुद्रा पसललाई पाँच हजार र डिलरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । साथै, बोहरा समूहद्वारा सञ्चालित जैसानी कन्सर्न्स्लाई टोलीले तत्कालै तीन लाख रुपैयाँ जरिवाना गरी गोदाम सिल गरिदिएको छ । अनुगमनमा सहभागी उपभोक्ता अधिकारवादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले म्याद गुज्रिएको खाद्यान्न गाईवस्तुलाई पनि खुवाउन नपाइने कानूनी व्यवस्था रहेकोमा बोहराले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नेगरी मानिसलाई बिक्री गरेको बताए । जानाजान म्याद गुज्रिएको खाद्यान्न बिक्री गरी बोहराले मानिसको ज्यान जोखिममा राखेको बताउँदै ढुङ्गेलले यस्तो कार्य गम्भीर आपराधिक कार्य भएको टिप्पणी गरे । दोषी उद्योगीउपर हदैसम्मको सजाय गरिनुपर्ने ढुङ्गेलको माग छ । बोहरा समूह नेपालको प्रतिष्ठित औद्योगिक घरानाका रुपमा परिचित छ । दाल, चामल, तेलजस्ता दैनिक उपभोग्य वस्तुको कारोबार गर्दै आएको बोहरा समूह ठेक्कापटमा समेत संलग्न छ । उद्योगी अविनाश बोहरा मोरङ व्यापार संघका पूर्वअध्यक्षसमेत हुन् ।