इटहरीः मोरङको उर्लाबारी नगरपालिका ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको घटनाबारे सम्पूर्ण निकायले चासो देखाउन थालेका छन् ।

स्वयम प्रहरी कार्यालय मात्र नभएर अदालतले पनि घटनाबारे चासो दिएको हो । यो घटनाबारे अहिले सामाजिक सञ्जाल, सञ्चारमाध्यमहरु, प्रहरी तथा अदालतमा बहस तथा टिकाटिप्पणी भइरहेको छ । घटनाबारे निष्पक्ष छानबिन नभएको भन्दै परिवार तथा आफन्तहरुले फागुन १० गते सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा धर्ना दिएका थिए । त्यसपछि हिजो अर्थात् बुधबार परिवार तथा आफन्तहरु जिल्ला सरकारी वकिलको कार्यालय विराटनगर गएका थिए । घटनाबारे आफूहरु अनभिज्ञ रहेको जनाउँदै सरकारी वकिल कार्यालयले आफूहरुलाई घटनाबारे जानकारी गराइएकाले अब आवश्यक सहयोग गर्ने बचनवद्धता सरकारी वकिल कार्यालयले दिएको मृतककी बहिनी सदिक्षाले बताइन् । यता मोरङको उर्लाबारीका ३२ वर्षिय प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताएका छन् ।

प्रहरीको अनुसन्धानविरुद्ध समाजिक सञ्जालहरुमा गलत प्रचार भइरहेको गुनासो गर्दै प्रहरीले त्यसलाई स्पष्ट पार्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्रहरीले किर्ते कागज बनाउन नसक्ने जिकिर गरे । प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेशसमेत हुने भएकाले प्रहरीले किर्ते गरी कागज बनाउन नसक्ने उनको दाबी छ । एसपी खड्काले प्रहरीले घटनाबारे त्रुटिरहित ढंगले अनुसन्धान गरेको बताए । प्रहरीको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा अनेक खाले टिकाटिप्पणी गरिएको अवस्थामा उनले ‘तथ्यमा रहेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । यस घटनामा कथनकदाचित अनुसन्धानमा संलग्न प्रहरीले घटनामा लापरबाही गरेको पाइए कारबाहीको दायारमा ल्याउने खड्काले स्पष्ट पारे ।

यता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भिसेरा रिपोर्टमा भने ‘भायलेन्ट एक्पेक्सिया’ का कारण मृत्यु भएको प्रतिवेदन प्रहरीलाई पठाएको थियो । डुण्डिएर, गला दबाएर, डुबेर, निसास्सिएर, स्वास अवरोध भएर मृत्यु हुनुलाई ‘भायलेन्ट एक्पेक्सिया’ भनिन्छ । त्यो व्यहोराको पत्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएपछि फागुन ९ गते फायल सरकारी वकिलको कार्यालयमा रायका लागि प्रहरीले पठाएको थियो । पीडितका परिवारले जाहेरीमा विषालु पदार्थ मिसाई खुवाएर हत्या गरिएको जाहेरी दिएपछि त्यही अनुसारको भिसेरा परीक्षणका लागि पठाइएको थियो । माघ ५ गते प्राप्त भएको भिसेरा रिपोर्टमा किटनाशक, विषाक्त ग्यास, विषाक्त मदिरा नदेखिएको भनी प्रतिवेदन आएको थियो ।

तर, शरीरमा देखिएको सामान्य घाउले मृतक बास्तोलाको मृत्युको कारण ‘भायलेन्ट एपेक्सिया’ बाट भएको हुनसक्ने प्रतिवेदनमा उल्लेख थियो । त्यसका आधारमा प्रहरीले भायलेन्ट एपेक्सिया के–के कारणले हुनसक्छ भनी गत माघ १५ गते पुनः खुलाई पठाउन पत्राचार गरेको थियो । बीपीले कारणसहित पत्र पठाएपछि पक्राउ गर्न सकिने दुईजनालाई पक्राउ गरिएपनि अन्य प्रतिवादी भने फरार भइसकेका थिए ।
६ जना विरुद्ध अभियो दर्ता
यस घटनामा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो । प्रहरीले पक्राउ गरेको होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ्गको रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जीसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

सोही मुद्दामा प्रवीणका साथीहरू उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेल र प्रवीणको शव भेटिएको घरका घरधनि उर्लाबारी ६ फिल्म हल छेउका ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो । मुद्दा चलाइएकामध्ये चार जना यातायात मजदुर हुन् । उनीहरू प्रवीणका साथी रहेका छन् । अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल सञ्चालक राई र दर्जीको बयान सकिएको मोरङ जिल्ला अदालतले जानकारी दिएको छ । मोरङ अदालतको ७ नम्बर इजलासमा प्रतिवादीहरूको बुधबार बयान सकिएको छ ।