काठमाडौँः काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ ।

उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमावली र कार्यविधिलाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको जनाएको छ । सरकारले वि.सं. २०६४ मा मानव बेचबिखनविरुद्धको ऐन, २०६५ मा नियमावली र २०७० मा कार्यविधि जारी गरिसकेको छ । सचिवस्तरीय नेतृत्वमा संघमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति गठन भएजस्तै नगरप्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत बेचबिखन नियमन तथा नियन्त्रण प्रयासलाई अघि बढाउने कामपाको तयारी छ । सरोकारवालासँग यस विषयमा बिहीबार कामपामा भएको छलफलमा कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव बेचबिखनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै परिवर्तित मानसिकताले सिर्जना गर्ने समस्या समाधानको बाटो खोज्नुपर्ने बताइन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गर्ने समस्या बढिरहेको उपप्रमुख खड्गीको भनाइ छ । छलफलमा सहभागी शान्ति फाउन्डेसनका जिल्ला परियोजना अधिकृत शान्ता ढकालले बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको बताउँछिन् । ‘‘मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकाले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो,’’ उनले भनिन्, ‘‘प्रवेश गरेर जीवन धान्न अप्ठ्यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुन थालेको छ ।’’ कार्यक्रममा अन्य सहभागीले मानव बेचबिखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको बताए । उनीहरूका अनुसार खाजाघर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्र अहिले सहरका जोखिमपूर्ण क्षेत्र हुन् । पहिले शारीरिक सम्पर्कका लागि ओसारपसार र बेचबिखन हुनेमा अहिले श्रमका नाममा आन्तरिक रूपमा ओसारपसार र श्रम शोषण हुने गरेको भन्दै त्यसतर्फ ध्यान दिन उनीहरूले आग्रह गरे । -रासस