इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १३ बाट प्रहरीले जबर्जस्ति करणी मुद्दाका एक जना आरोपीलाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका ४ स्थायी घर भएका ३९ वर्षीय राजीव गुरुङ रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । उनका अनुसार अभियुक्त गुरुङमाथि सामाजिक सञ्जाल टिकटक म्यासेन्जरबाट एक युवतिसँग चिनजान गरी विवाहको प्रलोभन दिई जबर्जस्ति करणी गरेको आरोप छ । अभियुक्त गुरुङले युवतिलाई गत माघ २५ गतेदेखि २७ गतेसम्म इटहरी ९ स्थित आरआर होटलमा राखी जबर्जस्ति करणी गरेका थिए ।
यसैगरी, अभियुक्त गुरुङले युवति बाथरुममा नुहाइरहेको मौका पारी निजले लगाएको सुनको ४ आनाको झुम्का, सुनको १० आनाको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, नगद रु २७ हजार पाँच सय रुपैयाँ, साँग्रिला बैँकको एक थान एटिएम कार्ड र एक थान हवाई होनर मोबाइल चोरीसमेत गरी फरार भएको डीएसपी केसीले बताए । पीडित युवतिको जाहेरीका आधारमा अभियुक्तको खोजीमा जुटेको प्रहरीले झापाकी एक महिलालाई यस्तै प्रकृतिबाट ठगी गर्ने नियतले झापातर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा गुरुङलाई पक्राउ गरेको केसीको भनाइ छ । पक्राउ परेका अभियुक्त गुरुङका साथबाट पीडित युवतिको एटिएम कार्डसमेत बरामद गरिएको जनाउँदै प्रहरीले निजउपर जबर्जस्ति करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ ।