इटहरीः अहिले निर्माणाधीन रानी–धरान ६ लेन सडकअन्तर्गत इटहरी खण्डको निर्माणको काम पटक पटक विवादित हुँदै आएको छ ।

केही दिनयता त विराटनगरलाइनका व्यापारी तथा स्थानीयले सडक नै अवरुद्ध गर्दै आएका छन् । पुनः शनिबार पनि स्थानीयले विराटनगरलाइनमा सडक अवरुद्ध गरेका छन् । उनीहरुले सडक निर्माणको काममा ढिलाइ भएको र त्यसले यहाँको व्यापार व्यवसायसँगै जनस्वास्थ्यमा पनि असर गरेको भन्दै बाटोमा बाँसको बार नै लगाएर विरोध गरेका छन् । विराटनगरलाइनको हटिया जने चौबाटोको तीनतिर बाँसको बार लगाएर स्थानीयले सडक अवरुद्ध गरेका हुन् । अवरुद्ध सडक खुलाउन आएका नेपाल प्रहरीका इटहरीका एक प्रहरी निरीक्षकले समस्याको समाधान सडक अवरुद्ध गरेर नहुने भन्दै स्थानीयलाई वार्तामा बस्न अनुरोध गरेका थिए । त्यही क्रममा एक स्थानीय तथा व्यवसायी खड्गबहादुर श्रेष्ठले ‘एउटै कामको लागि कति पटक बैठक बस्नु ?’ भन्दै जवाफ फर्काए ।

sthaniya

‘हामी १०÷१२ पटक यो विषयको छलफलमा बसेका छौँ । अब एउटै कामको लागि हामी कति पटक वर्तामा बस्नु ?’, उनले भने । यस्तै उनले यहाँको समस्या समाधानका लागि स्थानीय सरकार उदासीन बनेको आरोप लगाए । अघिल्लो पटक पनि स्थानीय सरकारको रोहवरमा भएको वाचा पूरा नगरेकाले आफूहरुले सडक पुनः अवरुद्ध गरेको श्रेष्ठको भनाइ छ । ‘अस्ति पनि हामीले सहमति गरेमा थियौँ । दिनमा ४ पटक पानी हाल्ने सहमति गर्यौँ । वडाध्यक्ष आउनुभएको थियो त्यो बेला । मेयर अहिलेसम्म आउनुभएको छैन । अब हामीलाई पानी हाल्नु छैन । अबको हाम्रो माग भनेको भएको रोडलाई पीच बनाउनुपर्यो’, उनले भने । यता सडक विभाग तथा स्थानीय सरकारले भने सडक विस्तारको क्रममा भत्कने घर भत्काउन नदिँदा काममा ढिलासुस्ति भएको बताउँदै आएको छ ।

bar 2

तर, यहाँका स्थानीयले भने आफूहरुले सडक विस्तारको लागि कुनै रोकावट नगरेको बताएका छन् । ‘हामीले घर भत्काउन किन दिएका छैनौँ ? हामी त घर खाली गर्दैछौँ । यहाँ आउनुपर्यो नि त, सहमति गर्नुपर्यो । हामीले सर्वोच्चबाट मुद्दा जितेका छौँ । हामीलाई क्षतिपूर्ति दिनुपर्यो । हामी घर छोड्न तयार छौँ’, एक स्थानीय व्यवसायीले भने । अब सरकारले सडक विस्तारको लागि आवश्यक पर्ने घर भत्काउन नसके पनि भएको सडक चाँडो कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ । माग पुरा नभएसम्म पटक पटक सडक अवरुद्ध गर्ने स्थानीयहरु बताउँछन् ।