इटहरीः मोरङको केराबारी गाउँपालिका ५ स्थित पिपल चौकमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का १८ वर्षीय गजेन्द्र राई रहेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । को २ त ५५०० नम्बरको ट्याक्टरमा सहचालकका रुपमा कार्यरत राई ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकोमा उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारका क्रममा उनको बिहान ९ः३० बजे ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका ३ का २२ वर्षीय राजु थापा गम्भीर घाइते भएकोमा उनको बीपी प्रतिष्ठानमै उपचार जारी रहेको ढकालको भनाइ छ । दुर्घटनापछि ट्याक्टरका चालक इटहरी ३ घर भएका २७ वर्षीय राम दर्जीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गिट्टी लोड गर्नका लागि खोलामा जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।